एनएमबि बैंकले सुरु गर्‍यो हरित बचत खाता योजना

एनएमबि बैंकले सुरु गर्‍यो हरित बचत खाता योजना



काठमाडौं । एनएमबि बैंकले हरित बचत खाता अर्थात् ग्रीन सेभिङ्स डिपोजिट नामक योजना ल्याएको छ । बैंकले दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट भन्ने अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको हो ।

यस खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको विश्वास छ । खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग हुनेछ ।

यस खाताबाट ग्राहकहरुले आफ्नो लगानीको राम्रो प्रतिफल पाउन सक्नेछन् । त्यस्तै हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । एनएमबि बैंकमा ग्रीन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दीगो बनाउन हातेमेलो गर्न बैंकले आह्वान गरेको छ । एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ । ग्रीन सेभिङ डिपोजिट खाता मार्फत आफ्नो प्रतिबद्धता जनाउन पनि बैंकले आह्वान गरेको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।