काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरे । ‘फेरि राजामहाराजाहरूले अर्को मूर्खता नगरियोस् । यदि त्यसो गरियो भने निकै ठुलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्छ’, प्रचण्डले भने, ‘नेपाली जनता र राजनीतिक दलहरूले उदारतापूर्वक बस्न दिएको बेला संयमित भएर बस्नुको सट्टा फेरि दुष्साहस गर्न खोजिएको छ, त्यसको परिणाम गम्भीर हुनसक्छ ।’
अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने बताए । ‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘राजतन्त्र पुनस्थापना त असम्भव छ, तर यसले बहस अघि बढाउन सहज बनाउँछ भन्ने मेरो बुझाई छ ।’
अध्यक्ष प्रचण्डले गणतन्त्र पक्षधर सबै शक्तिलाई गम्भीर समीक्षा गरी एक ठाउँमा आउन अपिल पनि गरेका छन् । ‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ । राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो’, उनले भने ।
कार्यक्रममा प्रचण्डले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको दाबी गरे । तर त्योभन्दा पनि ठुलो कुरा नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको उनले बताए ।
प्रतिक्रिया