प्रधानमन्त्री कप : बागमती र कर्णाली विजयी

प्रधानमन्त्री कप : बागमती र कर्णाली विजयी



रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रन बनाउँदा अलआउट भयो । गण्डकीका वंश क्षेत्रीले सबैभन्दा धेरै ५५ रन बनाए । बागमतीका ईशान पाण्डेले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रन बनायो । बागमतीका ईशान पाण्डेले ६९, विपिन आचार्यले नटआउट ६३, शुभ कंसाकरले ५२ रन बनाए । गण्डकीका अर्जुन कुमालले ४ विकेट लिए । प्रतियोगितामा बागमतीको यो पाँच खेलमा दोस्रो जीत हो भने गण्डकीको पाँच खेलमा चौथो हार हो ।

यस्तै रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा भएको कर्णालीले कोशी प्रदेशलाई १ सय २७ रनले हरायो । कर्णालीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमै अलआउट भयो । कोशीका चिराग शाहले सबैभन्दा धेरै २५ रन बनाए । कर्णालीका सुनिल धमला र दीपेन्द्र रावतले ३/३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो । कर्णालीका अर्जुन घर्तीले नटआउट ८८, हिमांशु शाहीले ४६ रन बनाए । कोशीका विपिन महतोले ३ विकेट लिए । प्रतियोगितामा कर्णालीको यो पाँच खेलमा दोस्रो जीत हो भने कोशीको ६ खेलमा पाँचौं हार हो ।