सर्वदलीय सरकार आवश्यक छैन : कांग्रेस

सर्वदलीय सरकार आवश्यक छैन : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वदलीय सरकार अहिले आवश्यक नरहेको बताएका छन् । संविधानविरुद्ध आवाज उठाउनेहरू परम्परावादीहरू मात्र भएको भन्दै उनले माओवादी प्रतिपक्षमा बस्दा नै अहिलेको व्यवस्थालाई सहयोग पुग्ने तर्क गरे ।

उनले माओवादीलाई समेटेर सर्वदलीय सरकार बनाउनेबारे पार्टीभित्र छलफल नै नभएको बताएका छन् ।

“सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा भएको छैन । हामीहरूको बैठकमा छलफल पनि भएको छैन,” सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि महतले भने, “प्रतिपक्षमा रहेको माओवादी संविधानकै पक्ष हो । सरकारमा आउँदा संविधानको पक्षमा हुने र नआउँदा विपक्षमा हुने अवस्था छैन । त्यसैले राष्ट्रिय सहमति अहिले आवश्यक छैन ।”

डा. महतले प्रतिपक्षी गठबन्धनले गणतन्त्रका पक्षमा गर्ने प्रदर्शनमा सत्तापक्ष सहभागी नहुने बताए । भोलिका दिनमा आउने परिस्थितिअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ थियो ।

बैठकले संविधान रक्षाका लागि क्रियाशील रहने निष्कर्ष निकालेको प्रवक्ता महतले जानकारी दिए ।

‘उपलब्धिको रक्षा गर्ने कुरा हो, यसमा कुनै द्विविधा पनि छैन। चैत १० गतेको कार्यसम्पादन समितिबाट यसबारे थप समीक्षा हुनेछ,’ प्रवक्ता महतले भने, ‘समग्रमा निर्वाचित जनप्रतिनिधिहरूले नै शासन गर्ने हो, आएको व्यवस्थाको रक्षा गर्ने हो ।’

प्रवक्ता महतका अनुसार सरकारका जनअपेक्षा पूरा गर्ने जिम्मेवारी सरकारको हो। सरकारले कमीकमजोरी सुधार गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने उनले बताए ।

त्यसैगरी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता महतले जानकारी दिए । ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं,’ महतले भने ।