युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदिन परराष्ट्रमन्त्री राणाकाे आग्रह

युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदिन परराष्ट्रमन्त्री राणाकाे आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँ दिल्लीमा रहेका उनीहरूबीच आज भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री राणाले नेपाली नागरिक रुसी सेनामा भर्ना हुन पाउने नीति नेपालको नरहेको स्पष्ट गर्दै युद्धबन्दीका रूपमा युक्रेनमा रहेका नेपालीलाई यथाशक्य छिटो मुक्त गरिदिन अनुरोध गरेकी छन् । उनले मानव तस्करको फन्दामा परी नेपालको दुर्गम क्षेत्रबाट जबरजस्ती रुसी सेनामा भर्ना भई कार्यरत रहेकै अवस्थामा युक्रेनी सेनाको नियन्त्रणमा रहेका सात जना नेपालीको रिहाइका लागि युक्रेनी विदेशमन्त्रीमार्फत युक्रेन सरकारसँग आग्रह गरेकी हुन् ।

जवाफमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानूनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटका क्रममा मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यलगायतमा उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह पनि गरिन् ।

भेटघाटका अवसरमा नेपाल र युक्रेनका सरकारी एवम् कूटनीतिक राहदानी वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।