पच्चिस करोडको मुख्य नाइकेलाई पक्राउ गर्न सांसद खतिवडाकाे माग

पच्चिस करोडको मुख्य नाइकेलाई पक्राउ गर्न सांसद खतिवडाकाे माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोडभन्दा धेरै रकमसहित ट्रक ड्राइभर पक्राउ परेको घटना उल्लेख गर्दै मुख्य नाइकेलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले नेपाल सरकारले बाहिरिन लागेको २५ करोडभन्दा धेरै रकमसहित ड्राइभर पक्राउ पक्राउ गरे पनि त्यसका नाइकेलाई छुट दिन नहुने बताए । विगतमा भरिया पक्राउ परे पनि मुख्य नाइके पक्राउ नपरेको उदाहरण धेरै रहेको खतिवडाले बताए ।

‘नेपाल सरकारले हिजो अबैध रुपमा सिन्धुपाल्चोकका कुसाङ लामा ड्राइभरले हाँकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपियाँ युरो र डलर गरेर अबैध रकम समात्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु । यस्ता घटनामा बारम्बार प्रयोग हुने कहिले सुन तस्करीका रुपमा, कहिले डलर तस्करीका रुपमा प्रयोग हुने, ड्राइभर र भरियालाई समाउने, अरुलाई त्यसपछि जो धनी छ त्यसको रुपमा नपुग्ने यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गर्दछु’, सांसद खतिवडाले भने ।

उनले थपे, ‘कहिले १८ किलो, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न ड्राइभर र भरियाहरूलाई पक्राउ गर्ने र मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो । अहिले पनि सरकार फेरि त्यसैगरी अन्तिमसम्म नपुगेर यिनै भरिया र ड्राइभरलाई मात्रै समातेर मुख्य नाइकेहरूलाई समात्न सफल भएनौ भने फेरि आँखामा छारो होले जस्तो देखिन पुग्छ ।’

उनले सरकार यस्ता तस्करहरूका नाइकेहरूसँग पुगेर जुन तहको भए पनि त्यसलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गरे । ‘यस्ता घटना विगतमा पनि भएका छन् । जनमानसमा निरासा पैदा भइरहेको बेलामा सरकार अहिले तस्कर र भ्रष्टचारीहरूलाई तह लगाउन तयार छभन्ने सन्देश दिएको छ’, उनले भने ।

त्यसैगरी सांसद खतिवडाले घुर्मी–खुर्कोट सडक बाढीपहिरोले क्षति पुर्‍याएको लामो समय भएको भन्दै मर्मत सम्भारका लागि आग्रह गरे ।