काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा शुरु हुनेछ ।
बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची तथा व्यवस्थापन सम्बन्धी कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा नियमावली बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’सम्बन्धी कार्यक्रम राखिएको हो ।
प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह नौमा रहेका सदस्यले यो पटक प्रश्न सोध्ने छन् ।
सांसदहरुका प्रश्न प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा पहिले नै दिइएको हुनेछ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।
अर्थ मन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलगायत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

प्रतिक्रिया