ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरे : रामहरि खतिवडा

ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरे : रामहरि खतिवडा



काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई शाही निसान प्रयोग नगर्न भन्नुपर्ने बताए ।

सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामना भिडियो सन्देश दिँदै पूर्वराजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् ।

खतिवडाले भने, ‘फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निसान प्रयोग गरेको देखियो । यस्तो अधिकार पूर्वराजा ज्ञानेन्द्रलाई छैन । यो शाही निसान २०६५ साल जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो । नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसैले श्री ५ महाराजधिराज भन्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्नका लागि आग्रह गरोस् ।’