काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको विषय गम्भीर विषय भएकाले व्यवस्थापनका लागि सरकारले यथोचित प्रयास गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आज सांसद भगवती चौधरीले गरेकाे जिज्ञसाको जवाफमा प्रधानमन्त्रीले आफ्नो देश आफै बनाउने विषय युवालाई सुसुचित गर्न आवश्यक रहेको भन्दै भने, “युवालाई उद्यमशील बनाउनेगरी सरकारले योजना र कार्यक्रम बनाएको छ । आर्थिक, प्राविधिक सबै विषयमा सरकारले सघाइरहेको छ ।”
महिला उद्यमीहरुलाई उत्प्रेरित गर्नेगरी सरकारले थप प्राथमिकता दिएर काम गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भने, “विश्व अहिले ग्लोबल भिलेजको रुपमा रहेको छ, युवाहरुलाई प्रशिक्षित गरेर स्वदेशमा व्यवस्थापन गर्नु एकदम राम्रो पक्ष हो, तर सरकारले जवर्जस्ती रोक्न त सक्दैन । युवालाई स्वदेशमै श्रम खर्च गर्ने चेतनाको बृद्धि गर्ने प्रयास सरकारले मात्र होइन, सबै पक्षले त्यसमा सहयोग गर्नुपर्छ ।”
“यो देश बन्दैन, केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ, जुन राम्रो होइन । बालबालिकाको कलिलो मस्तिस्कमा यस्तो नकारात्मक कुरा राखिदिनु हुन्न, सकारात्मक विषय र देश र जनताको विकासको पक्षमा भाष्य निर्माणमा सबै लाग्नुपर्छ ।” उनले भने, “युवाहरु अध्ययनका लागि बाहिर जानु राम्रो हो, यहाँभन्दा राम्रो र गुणस्तरीय शिक्षा बाहिर पाइन्छ भने त्यो शिक्षा लिएर त्यहाँको ज्ञान स्वदेशमा लगानी गर्नु राम्रो हो, त्यसमा हामीले युवालाई उत्प्रेरित गर्नुपर्छ ।” उत्पादनशील्ता र उत्पादन बृद्धि गर्नमा सरकारले पूर्वाधार विकासको काम गरिरहेको उनले बताए ।
कृषि आधुनिकीकरणका लागि, अहिलेको अवस्था बदल्नका लागि, गरिबी हटाउनका लागि तीनै तहको सरकार लागिपरेको उनले प्रष्ट पारे ।


प्रतिक्रिया