मोरङका तीनवटा आंगिकसहित पाँच क्याम्पसमा क्रान्तिकारीको जित

मोरङका तीनवटा आंगिकसहित पाँच क्याम्पसमा क्रान्तिकारीको जित



विराटनगर । मोरङमा त्रिभूवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी ११ मध्ये १० क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणाम सार्वजनिक भएको छ । दशमध्ये पाँच क्याम्पसमा अखिल क्रान्तिकारीले अध्यक्ष पदमा विजय प्राप्त गरेको छ ।

मोरङमा रहेका तीन वटा आंगिक क्याम्पस र ७ वटा सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीले तीनवटै आंगिक क्याम्पसमा अध्यक्ष जितेको छ ।

निर्वाचन सम्पन्न भएका सात सम्बन्धन प्राप्त क्याम्पसमध्ये दुई वटामा क्रान्तिकारीले अध्यक्ष जितेको छ । क्रान्तिकारीले स्नातकोत्तर क्याम्पस विराटनगर, मोरङ नर्सिङ क्याम्पस विराटनगर र कोशी प्रदेशकै सबैभन्दा ठूलो महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा अध्यक्ष जितेको छ ।

महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा अखिल क्रान्तिकारीका रोहितकुमार यादव अध्यक्ष निर्वाचित भए भने स्नातकोत्तर क्याम्पस विराटनगरमा क्रान्तिकारीका प्रितम साहसहित प्यानल नै विजयी बनेको छ । यसैगरी मोरङ नर्सिङ क्याम्पस विराटनगरमा रोहित ताजपुरिया अध्यक्षमा निर्वाचित भए ।