काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले सरकारले सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।
जीपी फाउन्डेसनले बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेकाे सरकारले सुशासनका लागि काम गर्नुपर्ने बताए ।
कोइरालाले भने, ‘गिरिजाबाबु बितेको १५ वर्ष भइसक्यो, हामीहरूले पाठ नै सिकेनौं । नेताहरूले केही सिक्दै सिकेनौंजस्तो भयो, केही न केही त हामीले गर्नुपर्थ्यो नि । आजको दिन पनि हामी सरकारमै छौं, कांग्रेस सरकारमा छ । कांग्रेस र एमाले सरकारमा छौं, सुशासनका लागि काम गर्नुपर्यो ।’
सुशासन पटक्कै नभएको भन्दै उनले कर्मचारीको नियुक्तिसहितका काममा पनि योग्यतालाई आधार नबनाइएको टिप्पणी गरे । मेरिटलाई भन्दा मन पर्नु वा नपर्नुलाई आधार मान्न थालिएको उनको टिप्पणी थियो । ‘भन्न त हुँदैन- सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरूलाई मन लाग्यो १, २, ३ सिफारिस आउँछ, मन्त्रिपरिषदमा जान्छ । उहाँहरूलाई मनलाग्यो ३ नम्बर, चित्त बुझे एक नम्बरको हालिदिनुहुन्छ,’ सरकारले गरेका नियुक्तिलाई लक्ष्य गर्दै उनले भने, ‘सुशासन पटक्कै छैन, यो कुरा हामीहरूले भन्ने कि नभन्ने, मैले त सार्वजनिक रूपमा भनिरहेको छु ।’
उनले कांग्रेस सत्ता पक्ष भए पनि सरकारमा नभएको दाबी गरे । ‘यहाँ रहेका कोही पनि मन्त्री छैनौं, मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्,’ उनले भने, ‘सरकारमा नभएका हामीहरूको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने हो ।’


प्रतिक्रिया