नवराज सुवेदीजीको नेतृत्वमा संयुक्त आन्दोलन हुन्छ : राप्रपा महामन्त्री राणा

नवराज सुवेदीजीको नेतृत्वमा संयुक्त आन्दोलन हुन्छ : राप्रपा महामन्त्री राणा



काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले गणतन्त्र र संघीयतालाई पाखा लगाउन नवराज सुवेदीजीको नेतृत्वमा संयुक्त आन्दोलन हुने बताएका छन् ।

शुक्रबार राजा फर्काउनका लागि दबाब दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । उनले अहिले तीन नेताहरू मिलेर देश लुटिरहेको आरोप समेत लगाए ।

उनले भने, ‘अब राजावादी, राष्ट्रवादी, संघीयता विरोधी, भ्रष्टाचार विरोधी, जनता सबै एक ठाउँमा उभिएर असफल गणतन्त्र र संघीयतालाई पाखा लगाउने काममा उत्रिएका छौँ । नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ । त्यही छाता अन्तर्गत अहिले काम भइरहेको छ । दुर्गा प्रसाईँजी अरू पार्टीहरू, शाही शक्ति मिलेर अगाडि बढ्नुपर्छ । कसैले आफ्नो गर्छ भनेर गर्न दिने त्यसैले यो फुटेको होइन । तमाम अभियान चलिरहेको थियो । राप्रपाले पनि गरिरहेको थियो मेरै नेतृत्वमा ।’

नवराज सुवेदीको नेतृत्वमा बृहत् आन्दोलन परिचालन समिति बनिसकेपछि त्यसमा आफू पनि रहेको बताए । उनले भने, ‘म राप्रपामा पनि छु । यसले राप्रपालाई, चाहे कमल थापासहित सबै राजावादीहरू मिलेर अघि बढ्ने सहमति छ ।’

उनले आफ्नो अध्यक्षतामा आन्दोलन परिचालन समिति आजै विस्तार गर्न लागेको बताए ।