काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा छिमेकी राष्ट्र भारत नरहेको आफूले पाएको बताएकी छिन् ।
शुक्रबार भारतको भ्रमण सकेर नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले बताइन् ।
‘यहाँको राजनीतिक गतिविधिबारे खासै हामीले कुरा गरेनौं तर उहाँहरूको सहयोग डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट बुझ्न जरूरी छ,’ उनले भनिन्, ‘अहिलेको सरकारसँग मिलेर काम गरिरहनुभएको छ। खुलेरै भन्नुपर्दा- सरकार नै परिवर्तन गर्ने आशय मैले देख्न चाहिँ देखिनँ है ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कुनै एजेन्डासमेत नराखिएको उल्लेख गर्दै उनले समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँग भने भेटवार्ता भएको बताइन् ।
‘कार्यक्रममा कुनै देशको परराष्ट्रमन्त्रीलाई मात्र भेट्न त्यहाँ गाह्रो थियो, भारतीय प्रधानमन्त्रीलाई भेट्ने हामीले एजेन्डा पनि राखेका थिएनौं,’ उनले भनिन्, ‘आफ्नो समकक्षी भएर विदेश मन्त्रीसँग भेट मागेका थियौं, भेटवार्ता भयो, राम्रो स्वागत गर्नुभयो ।’
रुसी फौजमा भर्ना भएर युक्रेनसँग युद्धमा पुगेका सात नेपाली युद्ध बन्दीहरु रिहाई गर्न युक्रेन तयार भएको उनले बताएकी छिन् । मन्त्री राणाले आफूले युक्रेनी समकक्षी एद्री सिबिहासँगको कुराकानीमा यस्तो भएको बताइन् ।
जर्मनीस्थित नेपाली राजदूतलाई युक्रेन हेर्ने अख्तियारी दिएपछि त्यस्तो प्रकृया सुरु गर्ने युक्रेनी समकक्षीले बताएको पनि राणाले बताइन् । सन् २०२२ फेब्रुअरीबाट सुरु भएको रुसको युक्रेन हमलापछि रुसी फौजमा भर्ना भएका विदेशीहरुमा नेपालीहरु पनि थिए । युक्रेनविरुद्ध लड्ने क्रममा सात नेपालीहरु युक्रेनी सैनिकले पक्राउ गरेर युद्धबन्दी बनाएको थियो ।
प्रतिक्रिया