प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक छः प्रचण्ड

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक छः प्रचण्ड


ग्लोब नेपाल
162
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारी दिएको छ । माओवादी अध्यक्ष प्रचण्डले खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् । आज (शनिबार) चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन ।

उनले भने, ‘राष्ट्रपतिले स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्‍यो । शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रो ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्‍यो,’ प्रचण्डले भने, ‘अहिले त भएको के छ ? मन्त्रीका अनुहारहरू हेर्नुनैभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर ।’ अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको भनाइ छ । उनले भने, ‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ ।

जसरी हुन्छ, त्यसलाई सताएको छ ।’ उनले यस्तो अवस्था अन्त्य हुनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने पनि बताए । उनले भने, ‘यदी प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति भयो भने, विज्ञहरूलाई मन्त्री बनाउने भयो भने विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री हुन थाल्छन्,’ प्रचण्डले भने, ‘अनिमात्रै देशमा स्थिरता हुन्छ, विकास हुन्छ, भ्रष्टाचार रोकिन्छ ।’