राजाको गोरखाकाली दर्शनमा राजेन्द्र लिङ्देन निकट अनुपस्थित

राजाको गोरखाकाली दर्शनमा राजेन्द्र लिङ्देन निकट अनुपस्थित


ग्लोब नेपाल
567
Shares

गोरखा । गोरखा दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक गोरखाकाली मन्दिरमा हिजो विहान आयोजित राजा ज्ञानेन्द्रको विशेष पूजामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू सहभागी भए पनि अध्यक्ष राजेन्द्र लिङ्देन निकट नेताहरू देखा परेनन्।

राजसंस्था समर्थकहरूका लागि महत्त्वपूर्ण मानिने यस मन्दिरमा राप्रपाका नेताहरू प्रायः विशेष अवसरहरूमा दर्शन तथा पूजाआजा गर्न जाने गर्छन् । तर, यसपटक लिङ्देन निकट नेताहरूको अनुपस्थितिले राजनीतिक वृत्तमा अड्कलबाजी सुरु गराएको छ ।

राजसंस्था पूनर्स्थापना गर्ने संयुक्त मोर्चाको नेतृत्व आफूले पाउनु पर्ने लिङ्देनको चाहना भए पनि उनलाई दुर्गा प्रसाई, कमल थापा, सन्तोष राजावादी, शिव सेना, जगमान गुरुङ, हिन्दु महासंघ, पशुपति खड्का, मिरा राणा, रमा सिंह, धर्म गुरुहरू कसैले काबिल ठानेनन् ।

‘दरबार सँगको पछिल्लो कन्फ्रन्टेसनले लिङ्देनको राजनीति डाँवाडोल हुने घटनाक्रम विकसित हुन सक्दछ,’ एक राप्रपा नेताले भने ।

‘कि त राजा चाहिन्न र मान्दिन भनेर लिङ्देन निस्कनु पर्यो, हैन संयुक्त जनआन्दोलन समितिलाई खुलेर समर्थन गर्नुपर्यो । लिङ्देन स्पष्ट हुन जरुरी छ, किनभने राजसंस्था समर्थक कित्तामा लिङ्देनको चर्को आलोचना शुरू भइसकेको छ,’ ती वरिष्ठ नेताले भने ।

राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा बोक्दै आएको लिङ्देन नेतृत्वको राप्रपा पछिल्लो समय आन्तरिक विवादमा मुछिएको छ । संघियता खारेजी भन्दै प्रदेश जोगाउन तयार हुने, गणतन्त्रको कमान्डर अर्थात प्रचण्ड नेतृत्वको सरकारसँग मन्त्री पदसम्म नछोड्ने लिङ्देनको वास्तविक चरित्रमाथि नै समकालीन नेताहरुले प्रश्न उठाईरहेका छन् ।

‘आलोचना गर्ने नेताहरुको कार्यवाहक जिम्मेवारी खोस्ने तथापि अमेरिकी राहादानी भएका प्रेम श्रेष्ठलाई (जो राप्रपाको साधारण सदस्य सम्म बन्न पाउँदैनन् देशको कानुन र राप्रपाको विधान अनुसार) केन्द्रिय कार्यसम्पादनमा राख्नुले नेता कार्यकर्ता माथि पार्टी नेतृत्वको विभेद हो भन्ने हाम्रो बुझाई छ,’ राप्रपाका केन्द्रीय सदस्यले भने ।

पार्टी अध्यक्ष लिङ्देन निकट नेताहरू किन सहभागी भएनन् भन्नेबारे स्पष्ट कारण बाहिर आएको छैन । तर,

लिङ्देन नेतृत्वको कारण दरबार देखि पार्टीभित्र सम्म देखिएको आन्तरिक मतभेदका कारण यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ । केही नेताहरूले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् भने केहीले व्यक्तिगत कारणले उपस्थित हुन नसकेको बताएका छन्।

यसैबीच उपस्थित भएका राप्रपा लिङ्देन ईतर नेताहरू जो धवल शमशेर राणा निकट भनेर चिनिन्छन् जिल्ला अध्यक्ष नारायण गुरूङ्ग, केन्द्रिय सदस्य अरुण गिरी, केन्द्रिय सदस्य शङ्कर खराल, केन्द्रिय सदस्य जगत गौचन उपस्थित थिए । तर लिङ्देन निकट मानिएका गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरूङ, उपाध्यक्ष हेमजङ्ग गुरूङ, गन्डकी प्रदेश सांसद विन्दु पहाडी पौडेल लगायत अनुपस्थित देखिए ।

राजनीतिक विश्लेषकहरूका अनुसार राप्रपा भित्र पछिल्लो समय देखा परेको गुटबन्दीको संकेत यस घटनाले झल्काएको छ। निकट भविष्यमा पार्टीभित्र फेरि आन्तरिक शक्ति सन्तुलनको बहस चर्किन सक्ने आंकलन गरिएको छ ।