विवाहको उमेर घटाउँदा हुन्छ : गृहमन्त्री लेखक

विवाहको उमेर घटाउँदा हुन्छ : गृहमन्त्री लेखक



काठमाडौं । सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमाको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउन सकिने बताए ।

उनले आफूलाई पनि विवाहको उमेर घटाउँदा हुने लागेको बताए । ‘विवाहको उमेरको विषयमा अत्यन्तै गम्भीर तरिकाले सोच्न आवश्यक छ । हामीले बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्नेबारे सोच्नुपर्छ,’ गृहमन्त्री लेखकले भने, ‘संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्‌मा विचाराधीन छ । संशोधन विधेयक तयार छ । त्यस विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामी छलफल गरिरहेका छौं ।’

उनले बालबालिका सम्बन्धी ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए । “मलाई चाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ । कि उमेर घटाएर जाऔँ, कि रोमियो जुलियट मोडलमा जाऔँ । छलफल गरौँ ।”

रोमियो जुलियट मोडलबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले भने, ‘रोमियो जुलियट लले के भन्छ भने, १८ वर्ष विवाहको उमेर तोक्यो मानौं । १६ देखि १८ वर्षसम्मको उमेरमा पनि उनीहरूको शारिरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन भन्ने कन्सेप्ट छन् ।’

बैठकमा सांसदहरुले विवाहको उमेर घटाउनुपर्ने बताएका थिए । अहिले विवाहको उमेर २० वर्ष रहेको छ । अहिले तत्काललाई उमेर घटाएर अघि बढ्ना पनि विषयवस्तुको समाधान हुनसक्ने गृहमन्त्री लेखकको भनाइ छ ।

यस विषयमा थप छलफल गरेर सुझाव दिन गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह गरे ।