काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्र र पञ्चायत ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि नगर्ने बताएका छन् ।
आइतबार प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरूले जनतामा भ्रम छरेर कुप्रचार गरिरहेको आरोप लगाए ।
आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कुतर्क गरेर जनतालाई भ्रम सिर्जना गरेकाे भन्दै उनले जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्वीकार्य नहुने बताए ।
‘आज कतिपय राजावादीहरू भन्ने गर्दछन्, आज मुलुकको सङ्कटको कारण त संघीय लोकतान्त्रिक गणतन्त्र हो । केका आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन् मलाई अनौठो लाग्छ । राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन् ।’ उनले भने, ‘राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन् । आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कुतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन् भने त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ । जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्वीकार्य हुँदैन ।’
महासचिव पोखरेलले एकताबद्ध भएर सहमतिमा प्रेस चौतारीको नेतृत्व चयन गर्न निर्देशन पनि दिए । उनले संगठनलाई सानो र चुस्त बनाउन आग्रह गर्दै हिजोको विभाजनको पीडा व्यहोरेकाहरु पनि फर्केर आएकाले व्यवस्थापन गर्नेपर्ने बताए । प्रतिस्पर्धा र एकता कतिबेला गर्ने भन्ने बुझ्न नसके काम गर्न नसकिने उनको भनाइ छ ।
उनले भने, ‘गणेश बस्नेतजीले एकताबद्ध संगठन बनाउन नेतृत्व गर्नुभएको छ । उहाँलाई सहयोग गर्न पार्टीका नेताहरु पनि यही हुनुहुन्छ । आवश्यक पर्यो भने भानुभक्त ढकाल, राजेन्द्र गौतम तपाईंहरुको बीचमै रहनुहुन्छ । मलाई लाग्छ, उहाँलाई खोज्ने अवस्था नै नआओस् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला ।’
प्रतिक्रिया