न्युजिल्यान्डले एक खेलअघि नै जित्यो पाकिस्तानसँगको टी–२० शृङ्खला

न्युजिल्यान्डले एक खेलअघि नै जित्यो पाकिस्तानसँगको टी–२० शृङ्खला



काठमाडौं । पाकिस्तानसँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ । आज भएको चौथो खेलमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई १ सय १५ रनले हरायो ।

न्युजिल्यान्डले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । पाकिस्तानका अब्दुल समादले सबैभन्दा धेरै ४४ रन बनाए । न्युजिल्यान्डका ज्याकोब डुफीले ४ विकेट लिए ।

यसअघि बे ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनायो । न्युजिल्यान्डका फिन एलेनले ५०, कप्तान माइकल ब्रेसवेलले नटआउट ४६ रन बनाए । पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।

टी–२० शृङ्खलाको पहिलो र दोस्रो खेल न्युजिल्यान्डले र तेस्रो खेल पाकिस्तानले जितेको थियो । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।