काठमाडौं । नेपाली कांग्रेसले अहिले अहिले सडकमा उत्रिएर आन्दोलन गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अहिलेको व्यवस्था जनताले ल्याएको व्यवस्था भएकोले सडकमा आन्दोलन गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
जनताले संविधान सभाबाट बनाएको संविधानबाट नै जनताका आवश्यकता र समस्या हल गर्न सकिने प्रवक्ता महतले बताए । ‘यही संविधानमार्फत् जनताका आवश्यकता र समस्या सम्बोधन गर्न सकिन्छ,’ उनले भने ।
राजसंस्था पुनर्संरचनाबारे भइरहेका चर्चालाई लिएर सोधिएको प्रश्नमा महतले आइतबार सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिअनुसार पार्टी अघि बढ्ने बताए ।
देउवाले अब संवैधानिक राजा मुलुकमा फर्कन सम्भव नरहेको र राजनीति गर्न मन भए पूर्वराजालाई राप्रपाको सभापति बनाउन आग्रह गरेका थिए ।
प्रवक्ता महतले सरकारका कामकारबाही थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको बताए ।
कांग्रेसले तत्कालका लागि गणतान्त्रिक मोर्चा आवश्यक नभएको पनि ठहर गरेको छ । बैठकले गणतन्त्रका पक्षमा संसद् र नागरिकको अधिकांश तप्का प्रतिबद्ध रहेको भन्दै गणतन्त्रवादीले मोर्चा खडा गर्नु नै आवश्यकता नरहेको निष्कर्ष निकालेको हो । “सत्तापक्षका दल मात्र होइन प्रतिपक्षमा रहेका समेत दलको गणतन्त्रमा प्रतिबद्धता छ,” महतले भने, “जुन कुरामा विवाद नै छैन त्यसमा मोर्चाबन्दीको आवश्यकता हुँदैन ।”
उनले अहिले असन्तोष जाहेर गरिरहेका पार्टीलाई पनि संविधानभित्रै रहेर समाधानको प्रयास गर्न सुझाव दिने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी कांग्रेसले केन्द्रीय समिति बैठकबाट महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका बारेमा निर्णय लिने भएको छ ।
महाधिवेशन गर्ने प्रक्रियामा रहेको, गर्नै नसक्ने अवस्थमा रहेकाका भ्रातृ संस्था भंग गर्ने वा समयअवधि थप्ने बारे केन्द्रीय समितिले निर्णय लिने महतले जानकारी गराए ।
महतले भने, ‘कुन कुन संगठनले निर्वाचन गर्न सके । अथवा, गर्दैछन् भने कति प्रगति गर्दैछन् । गर्नै नसक्ने कुन कुन संगठन छन् । त्यसको आधारमा निर्णय गर्छौं । जुनले महाधिवेशन गर्ने प्रगति गरेका छन् भने बढाइदिन सकिने भयो ।’
प्रतिक्रिया