संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने तीन दलकाे सहमति

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने तीन दलकाे सहमति



काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गर्न सहमत भएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएकाे हाे ।

आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउने सहमति भएकाे प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया सुरु हुने भएको छ ।

यसअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सर्च कमिटीले आयोग गठनका लागि सदस्यहरु सिफारिस गर्न सकेको थिएन । मिश्र नेतृत्वको सिफारिस समितिले पदाधिकारी छनोट गर्न नसकेपछि सुरुबाटै प्रक्रिया थाल्न सुझाव दिएको थियो ।

छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी थिए ।