कुलमान बर्खास्तीमा कांग्रेस महामन्त्रीद्वय गगन–विश्वप्रकाशद्वारा आपत्ती

कुलमान बर्खास्तीमा कांग्रेस महामन्त्रीद्वय गगन–विश्वप्रकाशद्वारा आपत्ती

निर्णय गलत छ सरकार । उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

महामन्त्रीद्वयले सामाजिक सञ्जालमार्फत कुलमान हटाउने सरकारी निर्णयको विरोध गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

कुलमानलाई हटाउनेसम्बन्धी प्रस्ताव ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदमा लगेका थिए । आमनागरिकमा असन्तुष्टि बढेका बेला असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सल्बलाइरहेको महामन्त्री थापाले बताए ।

‘आमनागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने । सरकार चाहिँ आफैं असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’, थापाले भनेका छन् ।

महामन्त्री थापाले सरकारले आफूहरूको सुझाव लत्याएको र उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न नसकिने बताए । ‘हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो । तर विडम्बना त्यो भएन । निर्णय गलत छ सरकार । उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, उनले भनेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले कुलमानलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमतिविपरीत कुलमानलाई हटाइएको उल्लेख गरेका छन् । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको भए पनि सरकारको निर्णय समायोचित नभएको उल्लेख गरे ।

‘कारबाही योग्य केही भएपछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो’, उनले भनेका छन्, ‘सरकारको यो निर्णय समायोचित बिल्कुलै भएन । यसप्रति खुला र प्रस्ट रूपमा विमति छ ।’