माइतीघरमा प्रदर्शन : जनता हेरेकाे हेरै, सरकार जान्ने भाे धेरै !

माइतीघरमा प्रदर्शन : जनता हेरेकाे हेरै, सरकार जान्ने भाे धेरै !



काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा मंगलबार उनीहरूले प्रदर्शन गरेका हुन् ।

हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध गरेका छन् । कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ ।

माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त’, ‘हामी जनता हेरेकाे हेरै, सरकार जान्ने भाे धेरै’, ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका जस्ता नारा लेखिएको प्ला कार्डसहित प्रदर्शन भएको हो ।

यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन् ।