एसियन कप छनोट : मलेसियासँग भिड्दै नेपाल

एसियन कप छनोट : मलेसियासँग भिड्दै नेपाल



काठमाडौं । एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल खेल्दैछ । छनोटमा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन् ।

नेपालले पहिलो खेल मंगलबार मलेसियासँग उसैको मैदानमा खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ७:४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुनेछ ।

नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन । सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ ।

फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ । मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ ।

छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ । सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ ।