काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको छ ।
मंगलबार बिहान ३५/४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यलय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड भएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘…कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशका सम्मानीय प्रधानमन्त्रीलाई अवैध किसिमको गाली गलोज/अपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएका प्रधानमन्त्रीलाई अपमानजन्य सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो । यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोरभर्त्सना गर्दछ,’ केन्द्रले जारी गरेको विज्ञप्तिमा छ ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनको दायरमा ल्याई कारबाही गर्न केन्द्रले माग समेत गरेको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध सूचना प्रकाशन भएको विषयमा ज्ञापनपत्र बुझाउन नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ता वितरण केन्द्र पुगेका थिए ।
सो क्रममा कार्यालय प्रमुख श्रेष्ठले आफूहरूमाथि गलत व्यवहार प्रदर्शन गरेको भन्दै आक्रोशित युवा संघका कार्यकर्ताले उनीमाथि हातपात गर्नुका साथै कार्यकक्ष तोडफोड गरेका थिए ।
प्रतिक्रिया