काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् ।
यसबारे सोमबार बेलुकीदेखि नै मन्त्रीहरूले अनौपचारिक रूपमा बोले पनि सरकारले आधिकारिक जानकारी मंगलबार अपराह्न मात्र दिएकाे हाे ।
यसअघि सोमबारको बैठकपछि भने गुरुङले कुलमानबारे निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गरेका थिए ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरूङले ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेर ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको’ औपचारिक जानकारी दिए ।
घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको बताए । “यो सुशासनसँग जोडिएको विषय हो । हरेक विषयमा हामी व्यापारी होइनौँ, नाफा– नोक्सान हेरिएको हुँदैन,” उनले भने । सडकमा भइरहेको विरोधका सम्बन्धमा उनले भने, “लोकतन्त्रमा मान्छे सडकमा निस्किइहाल्छन् ।”
लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान भूमिका खेलेका घिसिङलाई सरकारले पदमुक्त गरेको भन्दै नागरिक स्तरबाट विरोध भइरहेको छ ।
सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेतालेसमेत सामाजिक सञ्जालमार्फत् सरकारको निर्णयको विरोध गरेका छन् ।
प्रतिक्रिया