ओलीजी र म जेलमेट हौं, काँग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

ओलीजी र म जेलमेट हौं, काँग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा आत्मकथा’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको चर्चा गर्दै आफूहरुबीच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना रहेको उल्लेख गरे ।

सभापति देउवाले भने, ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।’

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अत्यन्तै जुझारु, जोशिलो र लडाकु नेता भएको उल्लेख गर्दै सभापति देउवाले उनीजस्तो कहिल्यै नथाक्ने नेता आफूले कहिल्यै नदेखेको बताए ।

सभापति देउवाले भने, ‘गिरिजाबाबु र मेराबीच धेरै उतार चढाव आए, उहाँले मलाई पार्टीबाट निकाल्नु भयो, मैले पार्टी फोडेँ, फेरि एकता गरौं भन्नुभयोे एकता गरेँ, म नेपाली कांग्रेसको पार्टी सभापति हुन पनि उहाँको ठूलो सहयोग रहेको छ, उहाँ हिम्मतदार र डाइनामिक नेता हुुनुहुन्थ्यो ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता डा. शेखर कोइराला, कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालालगायतकाे सहभागीता थियाे ।