काठमाडौं । चान्स पाए सरकारी सम्पत्ति दोहन गर्न राजनीतिक दलको कार्यकर्ता भइराख्नु पर्दैन । कर्मचारीको सेटिङमा राज्यको सम्पत्ति दोहोन गरेको सर्वसाधारणले चाल पाउँदैनन् । तर सत्ताको उपयोग गरेर राज्यको सम्पत्ति ध्वस्त बनाएको, जागरणको नाम सभा गरेर दुःख दिने काम प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सर्वसाधारणले देख्न पाएका छन् ।
मंगलबार बिहानै चितवनस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा एमाले कार्यकर्ता प्रवेश गरेर कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात मात्र गरेनन् भौतिक सामाग्री पनि ध्वस्त बनाएका छन् । प्राधिकरणको डिजिटल बोर्डमा ‘केपी चोर देश छोड !’ लेखेको भन्दै एमाले कार्यकर्ता कुटपिट र तोडफोर्डमा उत्रेका हुन् ।
वास्तविकता नबुझी सत्ताको उन्माद एमाले कार्यकर्ताले भरतपुरमा देखाए । डिजिटल बोर्ड ह्याक भएको प्राधिकरणले भनेको छ । डिजिटल बोर्ड ह्याक हुनु अनौठो होइन, यसअघि पनि यस्तै समस्याबाट प्रहरी आजीत भएको थियो । प्रविधिसँग खेल्न जान्ने नयाँ पुस्ताको क्षमतालाई नजरअन्दाज गरेर वास्तविकता नबुझ्ने राजनीतिक नेतृत्व कति गैरजिम्मेवार छ भन्ने पछिल्लो प्रमाण हो, भरतपुर विद्युत प्राधिकरण घटना ।

सत्तामा हुँदा होस् वा बाहिर एमाले तोडफोड र कुटपिट गर्न पनि अन्य राजनीतिक दलभन्दा अगाडि छ भन्ने कुरा इतिहासमा जगजाहेर छ । रत्नपार्कको रेलिङ भत्काउनेदेखि सर्वोच्च अदालतको पर्खाल तोडफोड गरेको इतिहास एमालेसँग सुरक्षित छ । गल्तीबाट पाठ सिकेर आफूलाई सुधार गर्न एमालेमा अहिलेसम्म चेतना आएको छैन भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ ।
एमाले तोडफोड मात्र गर्दैन सर्वसाधारणलाई सास्ती पनि त्यत्तिकै दिएको छ । धेरै टाढा पुग्नु पर्दैन गत मंसिर ७ गते जागरणसभाको नाममा एमालेले सर्वसाधारणलाई दिएको सस्ती पर्याप्त छ । एमालेले त्यसबेला दरबारमार्गमा मञ्च बनाएर सभा गर्ने, फोहोर थुपार्ने र सहर नै प्रदूषित बनाएको थियो । एक दिन त हो नि भनेर सर्वसाधारण चुप लागेर बसे ।
सत्तामा बसेर महिनैभरि सर्वसाधारणलाई दुःख दिने कार्यक्रम एमालेले सार्वजनिक गरिसकेको छ । चैत ११ गते सचेतनाको नाममा ६ हजार ७ सय ४३ वडामा सभा, गोष्ठी कार्यक्रम गरेको थियो । पीरमर्कामा सहयोगी बन्नुपर्ने राजनीतिक दलको नीतिबाट सास्ती पाएपछि सेवाग्राहीबाट आक्रोस व्यक्त नभए के उब्जन्छ ?

सत्तारुढ एमालेले सर्वसाधारणलाई दिने सास्ती आउँदा दिनमा अझ कठोर हुने देखिएको छ । अबका दिनमा एमालेले दिने सास्ती राजधानीमा मात्र सीमित हुने छैन, मोफसलमा समेत फैलिने छ । एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल -याली आयोजना गर्ने घोषणा गरिसकेको छ ।
चैत १८ गते नै ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा पनि आयोजना गर्दैछ । चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने घोषणा गरेको छ र एमालेले बागमती प्रदेशको हकमा पछि कार्यक्रम गर्ने जनाएको छ ।
यी सब केका लागि ? बोनी गरेर दैनिकी चलाउनुपर्ने सर्वसाधारणका लागि एमालेका यस्ता कार्यक्रमले के अर्थ राख्छ ? सत्तामा बस्ने, राज्य दोहन गर्ने, सर्वसाधारणलाई सास्ती दिने यस्ता राजनीतिक दल र यसको नेतृत्वप्रति सर्वसाधारणमा उत्पन्न आक्रोसलाई कमजोर नठान्ने बुद्धि कहिले पलाउने होला ?
प्रतिक्रिया