रास्वपा मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न गयाे : प्रधानमन्त्री ओली

रास्वपा मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न गयाे : प्रधानमन्त्री ओली

एउटा हटायो, अर्को नियुक्ति गर्‍यो, सक्कियो । त्यही हो जवाफ ।



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्डको बैठकमा गएपछि मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न गएकाे बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले रास्वपालाई सही बाटोमा हिँड्न सुझाव समेत दिए ।

नयाँ शक्ति भनेर हतियार उठाएर मान्छे मारेर थकित तत्त्वहरूका पसिना पुछ्न हिँडेको तर्क छ ।

रास्वपा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकमा सहभागी भएको थियो । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा रास्वपा पनि उत्रिएपछि ओलीले नयाँहरू अहिले सिक्ने क्रममै रहेको बताए ।

उनले भने, ‘नयाँ पार्टीहरू सिक्दैछन्, गलत नगर्न सही बाटोमा हिँड्न सुझाव छ । ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मच्चाएर, उपद्रो मच्चाएर कति मान्छे मारेर, मराएर थकित तत्त्वहरूका पसिना पुछ्न किन जानुपर्‍यो ? आफूलाई नयाँ शक्ति भन्छ ।’

प्रचण्डले नेकपाकालको दुई तिहाइ भएको पार्टी फुटाएर प्रगतिशील सरकार ढालेकाे उनकाे आराेप छ ।

प्रचण्डले कुलमानलाई हटाउने निर्णय सत्य नहोस् भन्ने लेखेको स्ट्याटसप्रति कटाक्ष गर्दै भने, ‘मैले यस्तो कुरा सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस्, केके न थाहा पाएजस्तो, मैले सुनेको असत्य होस् । कुनै महान् ठूलो कुराजस्तो, होइन रहेछ भने नत्र, भन्दिन चाहन्छु चिसै पानीले नुहाउनुहुन्छ । हाम्राविरुद्ध मोर्चाबन्दी छ दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने, यिनै तत्त्वहरू हुन् ।’

प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको माग बमोजिम संसदमा गएर जवाफ नदिने अडान लिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो, सक्कियो । त्यही हो जवाफ ।’

विपक्षी दलहरूले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नबाट रोक्न सदन अवरोध सुरु गरेको आरोप लगाए ।

‘सबैलाई थाहा छ १८ गतेभित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयक पारित भएनन् भने कानुन बन्दैन, कानुनको रूपमा रहँदैन । त्यो अर्को विधेयकका रूपमा जानुपर्छ’ उनले भने, ‘त्यो बुझेर कानुन बनाउन नदिन विधेयक पास हुन नदिनका निम्ति यो सबै खेल भइरहेको छ । हामीले बुझेका छौं ।’

विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । थाहा छ तपाईंहरुको पृष्ठभूमि । के गर्न कता हिंडनुभएको थियो कहाँ आइपुग्नुभयो ।’