काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूमाथि फेरि ठूलो जालझेल भएको बताएका छन् । बुधबार संसद् भवन परिसरमा प्रचण्डले सञ्चारकर्मीहरूसँग संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याएर आफू सिंहदरबारबाट निस्किएलगत्तै कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले आफू चिन्तित भएको बताए ।
उनले भने, “टीआरसीको विषयमा मात्रै कुराकानी भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिँडे । त्योबाहेक केही एक शब्द उच्चारण गरेको होइन । तर, म निक्लिने बित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एकपटक निकै ठूलो जालझेल भएको महसुस मलाई भयो ।”
“एक–दुई दिन पर्खिएको भए पनि हुन्थ्यो । म सिंहदरबार गएर टीआरसी टुंग्याएलगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाहीलगायतले भने प्रचण्डले टीआरसीसँग कुलमान साट्यो । यो भन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुन सक्छ । सत्यको पक्षमा बोलिदिनुहोला,” प्रचण्डले थपे ।
प्रधानमन्त्रीले संसद्मा आएर कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको अवरोध जारी राख्ने र स्पष्टीकरण चित्त बुझ्दो नआए आन्दोलनमा जाने उनले बताए ।
प्रतिक्रिया