काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरुबीच विवाद नरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए ।
उनले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गरे ।
‘हामी राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौं,’ उनले भने ।
उनले सत्तापक्ष र विपक्षबीच अरू कुरामा विवाद रहे पनि संक्रमणकालीन न्यायको विषयमा विवाद नरहेको बताए ।
‘विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । थुप्रै कुरा छ । यी तमाम विवाद र बिमतिको बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने कुरामा इन् प्रिन्सिपल हामी कहिल्यै विवादमा भएनौँ । कहिले प्राविधिक, कहिले कानूनी, कहिले राजनीतकि उत्तारचढावहरुले यो देशमा हुन्छन्, त्यसकारणले ढिला भयो । तर यिसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन, त्यो होइन,’ उनले भने ।
प्रतिक्रिया