काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया पूरा गर्ने प्रयासमा आफूलाई कुनै श्रेय नचाहिएको बताएका छन् । पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय रहेको उनको भनाइ छ ।
नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न पनि आह्वान गरे ।
उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया हामी आफैँले सुरू गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने छोडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन ।’
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताए ।
विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै उनले त्यसमा दुःख व्यक्त गरे ।
‘हामीले जनतालाई निश्चिन्त बनाउँ । अब नेपालमा शान्ति हुनेछ । यस्तो हिंसा हुने छैन । यसरी मान्छे पिडित हुने छैन । यहीँ बस्नेबीचकै (आफूसहित देउवा र प्रचण्ड) त कुरा हो नि ! एकजना भर्खर जानुभयो, म बोल्दैछु, एकजना यहीँ हुनुहुन्छ । हामीले संकल्प गर्यौं भने यो चिजलाई रोक्न सक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने कुरा छैन । सकिन्छ । सक्नुपर्छ । त्यही विश्वासमा लागेको छु ।’
संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू भएको छ । सम्मेलनको प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधिलगायत सहभागी छन् ।
गएको आइतवार मात्रै संक्रमणकालीन न्याय (टीआरसी) टुङ्ग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबीच सहमति जुटेको थियो । यही सहमतिअनुसार सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया