नेवार नेताहरुको सामूहिक वक्तव्य- नेवाः समुदाय राजसंस्थाको पक्षमा छैन

नेवार नेताहरुको सामूहिक वक्तव्य- नेवाः समुदाय राजसंस्थाको पक्षमा छैन



काठमाडौं । नेवा: समुदायले आफूहरू राजसंस्थाको पक्षमा नरहेको बताएकाे छ । नेपाली कांग्रेस, एमाले, माओवादी, जसपाका नेवार नेताहरुले सामूहिक वक्तव्यमार्फत् यस्ताे प्रष्टीकरण दिएका हुन् ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा निकालिएको सामूहिक वक्तव्यमा राजतन्त्रात्मक निरंकूश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको उल्लेख छ ।

असन्तुष्टिमाथि खेलेर केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र हिन्दू राष्ट्र पुन:स्थापनाको मागसहित प्रतिगामी शक्ति चलमलाउन थालेको उनीहरूले बताएका छन् ।

‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुऱ्याउने यस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापी स्वीकार्य छैन । आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तत्वहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवांछित गतिविधिहरू गर्ने सम्भावना रहेकोले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउन समेत खबरदारी गर्दै जात्रा पर्वको महत्व र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवग गराउन चाहन्छौं’, विज्ञप्तिमा लेखिएको छ ।