बस्दै नबसी प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

बस्दै नबसी प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । सूचना टाँस गरेर स्थगित गरिएको हो । बैठक शुक्रबार (भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबारलाई बोलाइएको संघीय संसद्ले जारी गरेको सूचनामा उल्लेख छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

तर दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरेका हुन् ।