पूर्वराजाले आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन : देउवा

पूर्वराजाले आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मानव अधिकार विभागले गरेको कार्यक्रममा बोल्दै देउवाले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीहरूले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताए ।

अब यो व्यवस्था हट्न नसक्ने भन्दै उनले सम्पूर्ण नेपाली जनताको इच्छाअनुसार संविधान सभामार्फत गणतन्त्र आएको बताए ।

उनले भने, ‘विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथी भाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौं । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौं । कसैले रहर गरेर हुने कुरा छैन । यो सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन । नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ । मैले भनिसकेको छु, धेरै कुरा भन्ने कुरा छैन ।’

मुलुकमा अहिले समावेशी, समानुपातिक प्रतिनिधित्व भएको संविधान रहेको भन्दै उनले राजाले कू गर्छन् भने जस्तो राष्ट्रपतिले कू गर्न नसक्ने बताए ।

सभापति देउवाले भने, ‘हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको छ । हाम्रो देशमा कुनै किसिमको डर, त्रास छैन । राजाले कू गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैन । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’