काठमाडौं । बयोवृद्ध पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर र आन्दोलन परिचालन समितिको संयोजक धवलशमशेर राणालाई बनाएको छ । यी दुई व्यक्तिको नाम सार्वजनिक गर्नुअघि सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए ।
त्यसपछि मात्र संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले बिहीबार पत्रकार सम्मेलन गरी यो विषयमा जानकारी गराएका हुन् । राजाको आदेशमा आन्दोलनको कमाण्डर र संयोजक नतोकिएको पत्रकार सम्मेलनमा संयोजक सुवेदीले दाबी गरे । तर हिजो नै संयोजक नवराज सुवेदीले पूर्वराजासँग व्यापक छलफल गरेर यी दुईको नाम फाइनल गरेका हुन् ।
भोलि हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा निर्मल निवासमै पुगेर आज दिउँसो व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजासँग लामो भेटवार्ता गरे । सेतो गाडीमा चढेर उनी निर्मल निवासमा पसेका थिए । निर्मल निवासबाट निस्किएपछि उनी भोलिको आन्दोलनबारे जानकारी गराउने पत्रकार सम्मेलनमा पुगेका थिए ।
राप्रपा नभाँडियोस् भनेर भोलिको कार्यक्रममा राप्रपाले सक्रिय सहभागिताका लागि कार्यकर्तालाई आह्वान गरेको छ । राजावादीहरुको शक्ति प्रदर्शनको रुपमा हेरिएको भोलिको कार्यक्रमको कमाण्डर र जनआन्दोलन परिचालन समितिको संयोजक तोक्ने काम पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा भएको बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एक चौथाइ शक्ति मात्र होमिएकाले हुल्लडबाज उपनामले चिनिएका दुर्गा प्रसाईंलाई कमाण्डर बनाउँदा महोल बन्ने निष्कर्षसहित पूर्वराजा ज्ञानेन्द्रलाई कमाण्डर बनाएको बताइएको छ ।
संवैधानिक राजतन्त्रको एजेन्डा बोकेकाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पूर्वराजा ज्ञानेन्द्र खुशी छैनन् । राप्रपामा सक्रिय राजतन्त्रको एजेन्डा बोक्नेहरुलाई समेटेर नयाँ राजनीतिक शक्ति निर्माणमा लागेका पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपा महामन्त्री धवलशमशेर राणाले काँध हालेका छन् । राणालाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, रविन्द्र मिश्र र महामन्त्री कुन्ती शाहीले साथ दिएका छन् ।
प्रतिक्रिया