वीरगञ्ज । दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृंखला नेपाली युवा टोलीले एक खेलअघि नै जितेको छ ।
वीरगञ्जमा आज भएको दोस्रो खेलमा नेपाली टोलीले दिल्लीको टोलीलाई १ सय २ रनले हरायो । नेपालले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३० ओभर ४ बलमा ९० रनमै अलआउट भयो । दिल्लीका शन्तनु यादवले सबैभन्दा धेरै ३० रन बनाए । नेपालका अपराजित पौडेलले ५ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन बनायो । नेपालका अभिषेक तिवारीले ६०, नरेन भट्टले ५२ रन बनाए । दिल्लीका शुभम् दुबेले ३ विकेट लिए । पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो ।
प्रतिक्रिया