भृकुटीमण्डपमा शुल्क बुझाउनुपर्ने भएपछि समाजवादी मोर्चाको सभा बीच सडकमा

भृकुटीमण्डपमा शुल्क बुझाउनुपर्ने भएपछि समाजवादी मोर्चाको सभा बीच सडकमा

शुक्रबार बिहानसम्मको तयारी हेर्नुस् फोटोफिचरमा


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । राजावादीहरूलाई काउन्टर दिन भृकुटीमण्डपमा हुने भनिएको समाजवादी मोर्चाको विरोधसभा बीच सडकमा पुगेको छ । समाज कल्याण परिषदको भृकुटीमण्डप सञ्चालक समितिले उक्त स्थान निःशुल्क उपलब्ध गराउन नमानेपछि मोर्चाको कार्यक्रम बीच सडकमा पुगेको हो ।

आजको कार्यक्रम भृकुटीमण्डपसँगै जोडिएको पर्यटन बोर्ड तथा राष्ट्रिय सभागृह अगाडिको सडकमा केन्द्रित भएको छ । विरोध सभाका लागि रत्नपार्कबाट भद्रकाली जाने बाटोबाट प्रदर्शनीमार्गतर्फ पुतलीसडकसम्मको बाटो कब्जा गरिएको छ । यसअघि पनि त्यस स्थानमा विरोध कार्यक्रम हुँदै आएको थियो ।

व्यवसायिक प्रयोजनका लागि उपलब्ध हुने भृकुटीमण्डपको उक्त खुल्ला क्षेत्रमा शुल्क बुझाएपछि सांगीतिक र राजनीतिक कार्यक्रमका लागि उपलब्ध हुने समितिले जनाएको छ ।

मोर्चाले मञ्च निर्माण र साउन्ड सिस्टम फिट गर्नका लागि रातभरि नै बाटो कब्जा गरेर काम गरेको थियो । साउन्ड स्टिम रत्नपार्कबाट भद्रकालीसम्म र पूर्वमा पुतली सडकसम्म राखिएको छ । सडक अवरुद्ध भएपछि एसईई दिने, अध्ययन र प्रशिक्षणका लागि पुतलीसडक आउने विद्यार्थी नराम्रोसँग प्रभावित भएका थिए ।

मोर्चामा संलग्न रहेका ४ दलमध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँवाट प्रदर्शन गर्नेछन् ।

माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेवाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुदैँ आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धारवाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटवाट प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।