गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त

गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त



काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनका कारण तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ ।

दुई पक्षको प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटना रोक्नका लागि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने संकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाईको छ ।

गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् ।

त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकालेका छन् ।

बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु देखिन्छन् । उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।

राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ । अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल हुँदै आउने छ ।

यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेमा जम्मा हुने छ ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।