व्यवस्था फेरिएपछि राजाहरु रेटिन्छन्, दिएको मौकालाई कमजोरी नठान्नू : पम्फा भुसाल

व्यवस्था फेरिएपछि राजाहरु रेटिन्छन्, दिएको मौकालाई कमजोरी नठान्नू : पम्फा भुसाल



काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सरकारको कारणले बढेको निशारामा राजावादीहरुले मौका छोपेर फर्किने दिवासपना देखेको बताएकी छन् ।

शुक्रबार समाजवादी मोर्चाको विरोधसभालाई सम्बोधन गर्दै उनले जनतामाथि शोषण गरेका पूर्वदरबारिया र पञ्चहरुले यो निराशाको मौका छोपेर पुनःस्थापित भइन्छ कि भन्ने दिवासपना देखेकाे बताइन् ।

उनले एमाले अध्यक्ष केपी ओली सरकारलाई सुध्रिन चेतावनी दिइन् । उनले राजतन्त्र समाप्त भइसकेको भन्दै अब फर्किने कुनै सम्भावना नभएको बताइन् ।

उपाध्यक्ष भुसालले भनिन्, ‘यो सरकारको कारणले नै आमजनतामा निराशा पैदा भएको छ । हिजो जनताको युद्ध र आन्दोलनबाट पराजित भएका, प्रायः यस्ता निरंकुश राजतन्त्रको अन्त्य गर्ने क्रममा तीन देशमा राजाहरु रेटिने गर्दछन्, मारिने गर्छन् । हामीले नागरिक भएर बस भनेर छाडिएको स्थितिलाई कमजोरी ठानेर हिजो निरंकुश शासनको वरिपरि बसेर खाइपाइ आएका जनतामाथि शोषण गरेका पूर्वदरबारिया र पञ्चहरुले यो निराशाको मौका छोपेर पुनःस्थापित भइन्छ कि भन्ने दिवासपना देखेका छन् ।’

उनले सरकारले भ्रष्टाचार, दलाल र माफियाहरुको प्रतिनिधित्व गरेको भन्दै सच्याएर सुशासनको अभियान अघि बढाउन आग्रह गरिन् ।