काठमाडौं । काठमाडौंको तीनकुनेमा संयुक्त जनआन्दोलन समितिका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर मुख छोड्दै गाडी हुइँक्याएका छन् ।
तीनकुनेदेखि नै प्रसाईंले गाडी हुइँक्याउँदै आएका थिए ।
सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएको छ । जसमा दुर्गा प्रसाईंले प्रदर्शनकारीको बीचबाट गाडी हुइक्याएका छन् । प्रसाईंले झ्यालबाट हात निकालेर प्रदर्शनकारीलाई आफूपछि आउन उर्दी गर्छन् ।
अलि अगाडि प्रहरीको पहिलो घेरा हुन्छ । प्रहरीले उनको गाडीलाई रोकेर चाबी थुत्न खोज्छन् । तर, दुर्गा प्रसाईं रोकिँदैनन् ।
‘जनता मार्ने ? मा…’ भन्दै प्रसाईं अगाडि बढ्छन् । प्रसाईंले पेलेर लगेपछि प्रहरीहरु बाटो छोड्न बाध्य हुन्छन् । दुर्गा प्रसाईंले गाडी हुइक्याउँछन् ।
अलि अगाडि फेरि अर्को प्रहरीको घेरा थियो । त्यसलाई पनि प्रसाईंले पेलेर अघि हुइँकेर गएका थिए । प्रदर्शनकारीहरू पनि प्रसाईंसँगै अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।
तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले तीन वटा निजी घरमा तोडफोड गरेका छन् भने एउटा घरमा तोडफोड र आगजनी गरेका छन् । आगो निभाउन गएको दमकललाई राजावादी प्रदर्शनकारीहरूले ढुंगा हानेका थिए ।
प्रहरी र प्रदर्शनकारीबीच झडपपछि प्रहरीले हवाई फायर पनि गरेको छ ।
साथै प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट र कान्तिपुर टिभीको कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन् ।
प्रतिक्रिया