काठमाडौं । राजावादीहरूको शुक्रबारको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।
नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि सो क्षेत्र रणमैदानमा परिणत भएको हो । प्रहरीले प्रर्दशनकारीहरुलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भएको थियो । प्रदर्शनकारीका कमाण्डरसमेत रहेका दुर्गा प्रसाईंले गाडीसमेत प्रयोग गरेर निषेधित क्षेत्र तोड्न अघि बढेका थिए । त्यसपछि प्रदर्शनले थप उग्ररुप लिएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली प्रहार गर्नुका साथ बल प्रयोग गरेको थियो । प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गरेका छन् । तोडफोड गरिएको एउटा घरमा आगलागीसमेत भएको छ ।
प्रतिक्रिया