हट्यो काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यु

हट्यो काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको थियो ।

सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी गरिएको हिजो तीनकुनेमा भएको झडपपछि बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो ।

शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए । त्यस क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।