काठमाडौ । भिड उत्तेजित पारेर फरार रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईको खोजी प्रहरीले तीव्र पारेको छ । प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईं स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरीको नोटिसमा छ ।
उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रसाईं चक्रपथ हुँदै ललितपुरतर्फ लागेको थिए । ‘ललितपुरमा लुकेको आशंका छ, हामी खोजिरहेका छौं’ प्रहरी स्रोतले भन्यो ।
कमाण्डर दुर्गा प्रसाईं आफैंले सुरक्षाकर्मी मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । प्रसाईंविरुद्ध मानवहत्याको अभियोग लगाउने तयारी गरिएको छ । प्रसाईं मानवहत्याका लागि प्रेरक बनेको सुरक्षा निकायले ठहर गरेको छ ।
प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङलाई प्रहरीले गए राति पक्राउ गरेको थियो । उनीहरुमाथि मानवहत्याको मतियारका रुपमा मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।
१०५ जना पक्राउ
राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्ममा १०५ जना पक्राउ परेका छन् । प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले जानकारी दिए । उनको नाम भने खुलाइएको छैन ।
प्रतिक्रिया