दुर्गा प्रसाईंविरुद्ध मानवहत्यामा मुद्दा चलाउने तयारी

दुर्गा प्रसाईंविरुद्ध मानवहत्यामा मुद्दा चलाउने तयारी

रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई मतियारी गरेको अभियोग



काठमाडौं । शुक्रबारको प्रदर्शनलाई उत्तेजक बनाएर हिंसात्मक गतिविधि गर्ने राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले खोजी रहेकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली उनलाई पक्राउ गर्न परिचालन भएको छ ।

प्रसाईं ललितपुरको कुनै ठाउँमा लुकेर बसेको प्रहरी आशंका छ । उनीसँगै हिँड्ने युट्युबरलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।

प्रसाईंलाई मानव हत्यामा मुद्दा चलाउने तयारी गरिएको स्रोतले बताएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले बोलाए आउँछु भनेका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् ।

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

मिश्र र राणाविरुद्ध मतियारका रुपमा मुद्दा चलाउने तयारी छ ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापासँग यसबारे परामर्श गरेका थिए । त्यसक्रममा आईजी थापाले प्रसाईंविरुद्ध मानवहत्याको अभियोग लगाउने कानुनी आधार रहेको बताएका थिए ।

प्रसाईंविरुद्ध मानवहत्याको कसुरमा मुद्दा चलेर ठहर भएमा सर्वश्वसहित जन्मकैद हुनसक्छ ।