काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र स्थिर रहेको दाबी गर्दै कसैले चाहेर हटाउन नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश एक ढिक्का भएको उल्लेख गरे।
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारे चर्चा गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्याए।
“हिजो काठमाडौंमा पूर्वराजाको नाममा हुल हुज्जत भयो। अराजक तरिकाले धेरै अप्रिय घटना भए। स्पष्ट भन्नुपर्छ,” देउवाले भने, “यदि यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान्? उनी कहिल्यै संवैधानिक राजा बनेका छैनन्, बन्ने पनि छैनन्।”
देउवाले थपे, “त्यस कारण गणतन्त्रलाई कसैले चाहेर हटाउन सक्दैन। देश एक छ। अहिलेको परिस्थिति हेरेर मैले यो कुरा स्पष्ट रूपमा राखेको हुँ।”
प्रतिक्रिया