देशभरका शिक्षक फेरि राजधानी केन्द्रित आन्दोलनमा

देशभरका शिक्षक फेरि राजधानी केन्द्रित आन्दोलनमा



काठमाडौं । देशभरका शिक्षकहरूले फेरि राजधानी काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आव्हानमा विभिन्न शैक्षिक एवं पेशागत समस्याको आवाज उठाएर दबाबमूलक कार्यक्रम सुरू गरिएको हो ।

देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा होमिएका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै उनीहरूले ‘शिक्षकलाई ढाँट्न पाइँदैन’, ‘संसद् अधिवेशन चालु गर’, ‘शिक्षा ऐन जारी गर’जस्ता माग राखेका छन् ।

चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा रहेका शिक्षक बुधबारदेखि भने सडक आन्दोलनमा आएका हुन् । महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेका हुन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गरिएको महासंघले बताएकाे छ । २०२८ कै पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युगअनुसारको कानून खोजेको उनीहरूको भनाइ छ ।

यसअघि गएको असोज पहिलो साता भएको शिक्षकको पाँचदिने सडक आन्दोलनपछि सरकारसँग सातबुँदे सहमति भएको थियो ।