काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक जारी छ । बिहीबार मध्याह्न उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक सुरु भएको हो ।
बैठकमा मेयर बालेन शाह सहभागी छैनन् । आफूले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएपछि बालेन असन्तुष्ट छन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ तीन महिना १४ दिनपछि आज कार्यालय फर्केका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै पत्र पठाएको ठ्याक्कै एक महिनापछि उनी महानगरपालिका पुगेका हुन् ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए ।
गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । मेयर बालेन साहले भने गुरागाईंलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे । तर, नगरप्रहरीको अवरोध छिचोल्दै कर्मचारीले जनप्रतिनिधिले कार्यालय प्रवेश गराएका हुन् ।
कार्यालय प्रवेश गरेपछि पनि गुरागाईं आफ्नो कार्यकक्षमा बस्न सकेनन् । मेयर साहले उनको कार्यकक्ष लक गरिदिएका थिए । कर्मचारीले ताला फोड्ने प्रयास गरेका थिए । यसक्रममा ढोकाको सिसा फुटेको छ । केहीबेर प्रयास गर्दा पनि ढोका नखुले पनि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु बैठक बसिरहेका छन् ।
अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको आलोचना गरेकी छन् । ‘कसैको व्यक्तिगत मनमुटाव होला, तर जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लिन हुनुपर्छ,’ उनले भनिन् । डंगोलले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिइन् ।
उनले भनिन्, ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि वोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’
नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा मेयरको मौखिक आदेशमा लगाएको बताएका छन् ।
प्रतिक्रिया