काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकामा बालेन शाहको एकलौटी शासन समाप्त हुँदै गएको दाबी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यकक्षमा लगाइएको ताला तोडिनु बालेन आतङ्कको अन्तको सङ्केत भएको बताएका हुन् ।
उनले भने, “बालेनले आफ्नै महानगरको प्रशासकीय प्रमुखलाई कार्यकक्षमा प्रवेश गर्न नदिने गरी ताला लगाए। तर, उनको आदेशकै विपरीत महानगरका कर्मचारीहरूले नै त्यो ताला खोले। यो घटनाले काठमाडौंमा बालेन आतङ्कको अन्तको शुभारम्भ गरेको सङ्केत गरेको छ।”
काठमाडौं महानगरपालिकामा देखिएको विवादका कारण कर्मचारी असन्तुष्ट छन् । मेयर शाहले प्रशासकीय अधिकृतलाई आउन नदिएर तलबसमेत रोकिएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । यही असन्तोषको परिणामस्वरूप कर्मचारीहरूले नै कार्यकक्षको ताला फोडेर सरोज गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराए ।
बुधबार (आज) महानगरकै कर्मचारीहरूले बालेनले लगाएको ताला फोडेका हुन् । प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित हुने खबर पाएपछि बालेनले नगर प्रहरीलाई अवरोध गर्न पठाएका थिए । तर, कर्मचारी र वडाध्यक्ष मिलेर प्रहरीको घेरा तोडेर कार्यकक्षको ताला खोलिएको हो ।
यस घटनापछि सामाजिक सञ्जालमा मेयर बालेन शाहको आलोचना र समर्थनका दुई पक्ष देखिएका छन् । कतिपयले बालेनलाई मनोमानी गरेको आरोप लगाइरहेका छन् भने उनका समर्थकहरूले भ्रष्टाचारविरुद्ध चालेका कदमलाई समर्थन गरिरहेका छन् ।
प्रतिक्रिया