काठमाडौं । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् ।
काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपा र हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टीले आज संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न/गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिबद्धताहरू रहेका छन् ।
संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूका लागि १५ बुँदे आचारसंहिता लागु गरिएको छ । सबै घटक दलको कार्यालय वा संसदीय दल वा दलहरूको सुविधा हुने ठाउँमा यसको बैठक राख्ने र सो दिनको बैठकको अध्यक्षता र मिडिया संयोजन तथा मिडिया ब्रिफिङको काम त्यही दलले गर्ने भनेको छ ।
सहमति वा निर्णय गरिएका एजेन्डा र कार्यक्रम सबै दलले पालना गर्नुपर्ने उल्लेख गर्दै सहमतिका आधारमा गरिएका निर्णय नै मोर्चाका आधिकारिक हुने उल्लेख गरिएको छ ।
विचार मिल्ने दललाई बैठकमा आमन्त्रित दलका रूपमा सहभागी गराउन सकिने आचारसंहितामा उल्लेख छ । यसमा आबद्ध दलहरूले सार्वजनिक रूपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति दिने उल्लेख गर्दै वैचारिक एवं सैद्धान्तिक सवालमा आ–आफ्नो विचार राख्न कुनै बाधा नपर्ने पनि उल्लेख गरेको छ ।
आवश्यक कार्यविधि निर्माण गरी आबद्ध दलबिच अन्य क्षेत्रमा पनि सहकार्य गर्न सकिने उल्लेख गरेको छ । मोर्चाको एउटा मूल समिति हुने र सो समितिमा प्रत्येक घटक दलबाट अध्यक्षसहित बढीमा तीन जनासम्म सदस्य राख्न सकिने व्यवस्था गरिएको छ ।
कुनै पनि विषयमा तत्काल छलफल गर्न आवश्यक परे आबद्ध दलले कुनै पनि वेला बैठक डाक्न सक्ने उल्लेख गर्दै बैठकको छुट्टै माइन्युट बनाउने र त्यसको व्यवस्थापन सचिवालयले गर्ने भनिएको छ । बैठकमा सहभागीहरूले मर्यादित रूपमा आ–आफ्नो धारणा राख्नुपर्ने भनिएको छ ।
प्रतिक्रिया