डढेलोमा परि १ को निधन, ५ जना घाइते

डढेलोमा परि १ को निधन, ५ जना घाइते


ग्लोब नेपाल
162
Shares

फिदिम । पाँचथरको कुम्मायकमा डढेलोमा पर्दा गम्भीर घाइते हुनु भएकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको निधन भएको छ । उनको उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटा स्थित भेडेटार नजिक पुगेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।

उनका अनुसार कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी बनमा लागेको डढेलोमा पर्दा घाइते भएका स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे,उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फ र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारार्थ धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उहाँहरूको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आगो निभाउने क्रममा कुम्मायक १ का धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ । यस्तै फिदिम नगरपालिका १३ जौवारिको जङ्गलमा बिहीबार मध्यान्ह लागेको डढेलोमा पर्दा ४७ वर्षकी स्थानीय उषाकला नेम्वाङ राई गम्भीर घाइते भएका छन् ।

उन जङ्गलमा दाउरा खोज्न गएका बखत सल्केको डढेलोमा पर्दा जलेकी हुन् । नेम्वाङलाई पाँचथर अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । उनको पनि अवस्था गम्भीर छ ।